धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन व्यवसायी र कैलाली, कञ्चनपुरका होटल व्यवसायीसंग गरेको छलफलमा आगामी फागुनमा हुने सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने व्यवसायीले प्रतिवद्धता जनाएका हुन्।
छलफलमा व्यवसायको अवस्था, समस्या थप लगानी गर्ने परियोजना र नयाँ सम्भावनायुक्त परियोजनाका विषयमा छलफल गरिएको थियो। त्यस क्रममा व्यवसायीले लगानी तथा विकास सम्मेलनलाई सहयात्रीको रुपमा सहयोग गर्ने बताएका छन्।
आर्थिक मामिलामन्त्री एवम् लगानी तथा विकास सम्मेलन कार्यकारी समितिका अध्यक्ष नरेशकुमार शाहीको अध्यक्षतामा भएको छलफलमा नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिंह, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेय, कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्ट लगायतकाले लगानी सम्मेलनलाई सहयोग गर्ने प्रतिवद्धता जनाए। सुदूरपश्चिम प्रदेशको समग्र विकास गर्ने उद्देश्यका साथ प्रदेश सरकारले फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन गर्न गइरहेको छ।