खुर्कोट। राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ। उक्त बाँध निर्माण चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो।
बाँध निर्माणस्थलको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा स्थलगत निरीक्षण गरेका छन्।
उक्त आयोजनाको १३.३ किलोमिटर लम्बाइको सुरुङ तीव्र गतिमा निर्माण भइरहेको र सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माणको काम सुरु भएको आयोजनाले जनाएको छ।
गत वर्ष असोज २८ देखि खन्न सुरु गरिएको सुरुङ हालसम्म साढे १० किलोमिटर लम्बाइ निर्माण भइसकेको र सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ।