स्याङ्जा। जिल्लामा निर्माण कार्यलाई अलपत्र पारेर सम्पर्कबिहीन भएका ठेकेदारको खोजी कार्य शुरु भएको छ। आँधीखोला गाउँपालिकाका मानिसले निर्माण कार्य अलपत्र पारेर हराइरहेका ठेकेदारको खोजीका लागि सूचना नै जारी गरेका हुन्।
उनीहरुले सूचनामा मूल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) र साहयक ठेकेदार ऋषिराम गौतमको फोटोसहित ‘ठेकेदार हराएको सूचना’ जारी गरेका छन्। सूचनामा लेखिएअनुसार तामाङ रामेछापका नेपाली कांग्रेसका नेता हुन् भने गौतम नेकपा एमालेका कास्कीका नेता समेत रहेका छन्।
उनीहरु आँधीखोला अन्तर्गत साउथ एसियाकै पहिलो होमस्टे सिरुबासी जोड्ने आँधिखोलाको पुल विगत सात वर्षदेखि अलपत्र पारेर हराइरहेको सूचनामा उल्लेख गरिएको छ। उनीहरुलाई कतै देखिए वा भेटिए युथ अफ आँधीखोलामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।