काठमाडौं। सरकारले नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिएको छ । उमेशप्रसाद थानीले पदबाट राजिनामा दिएपछि निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी तोकिएको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले गत आइतबार साहलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो । साह निगमका नायव कार्यकारी निर्देशक हुन् । उनलाई नयाँ कार्यकारी निर्देशकको नियुक्ति नहुन्जेलसम्मका लागि जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक थानीले गत २६ मंसिरमा १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए । थानीको राजीनामापछि रिक्त रहेको पदमा तत्कालका लागि साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । चार्टड एकाएन्टेन्ट (सिए) समेत रहेका साह १५ वर्षदेखि निगममा कार्यरत छन् ।