काठमाडौं। अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामी बिक्रीमा ल्याएको छ । दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले यसअघि बिक्री गरेको हकप्रद सेयरमा माग बमोजिमको सेयर बिक्री नभएपछि अवितरित सेयर लिलामीबाट विक्री खुल्ला गरेको हो ।
कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । सोहीअनुसार सर्वसाधारणतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामीबाट निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।
इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक नागरिक लगानी कोष, सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंक शाखा कार्यालयमा आवेदन दिन सकिने छ ।