जुम्ला। बजेट अभाव भएपछि गुठिचौर गाउँपालिका जुम्लाको प्रशासकीय भवन निर्माण कार्य रोकिएको छ । समपूरक बजेटमार्फत निर्माण भइरहेको प्रशासकीय भवन बजेट अभाव भएपछि रोकिएको हो ।
साढे चार तला निर्माण हुने सुविधायुक्त भवनको नौ करोड बराबर लागत लाग्ने डीपीआर भएको थियो । तर पहिलो चरणमा गत आर्थिक वर्ष एक करोड बजेट विनियोजन भएकोमा ठेक्का आह्वान गर्दा निर्माण कम्पन्नीले ४४ लाखमा घटेर ठेक्का लिएको थियो । ४४ लाखमा ठेक्का लिएको आशापूर्ण निर्माण सेवाले सोही बजेटअनुसार भवनको तल्लो तलाको हवाई ढलान कार्य सम्पन्न गरेको छ ।
गुठिचौर गाउँपालिका सबइन्जिनियर मीनबहादुर भण्डारीले बजेट अभावले तल्लो तलाकै हवाई ढलानपछिको काम रोकिएको बताए । उनले भने, ‘निरन्तर भवन निर्माण भएको खण्डमा दुई दुई वर्षमै सकिन्थ्यो । एकीकृत कार्यालयबाटै सेवा प्रवाह पनि हुन्थ्यो । तर बजेट अभावले बीचमै निर्माण रोकिएको छ । भवन अधुरो अवस्थामा छ । माग गरे पनि पर्याप्त बजेट नआउने भएकाले पटक पटक ठेक्का गर्दै काम गर्दै गर्नुपर्ने पालिकाको बाध्यता छ ।’
एकीकृत प्रशासकीय भवन नहुँदा गुठिचौरका प्रायः विषयगत कार्यालय छरिएर रहेका छन् । एउटै कोठामा धेरै कर्मचारी बसेर मुस्किलले सेवा दिनुपर्ने बाध्यता छ । विषयगत कार्यालय छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ । कर्मचारीलाई सेवा दिन पनि मुस्किल छ । प्राविधिक शाखा पनि टिनकै टहरामा छ । प्राविधिक जनशक्तिले एउटै कोठाबाट पालिकाका सबै पूर्वाधार विकासका काम गरिरहेका छन् ।
पर्याप्त बजेट हुनुपर्ने ठूला योजनामा वर्षमा मुस्किलले एक डेढ करोडमात्रै विनियोजन हुने र त्यसैमाथि ठेकेदारले अधिकतम घटेर लिने परिपाटिले गर्दा दुर्गम कर्णाली जस्ता पालिकाका विकासमा समस्या हुने गरेको गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले बताइन् । बजेट अभावले रोकिएको भवनलाई पूर्णता दिन बजेटका लागि पहल भइरहेको उनको भनाइ छ । कारोबार दैनिकबाट