रुपन्देही। रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएको छ। उपमहानगरपालिकाको शुक्रबार सम्पन्न १४औँ नगरसभा अधिवेशनले अर्धवार्षिक समीक्षा गर्दै विकास आयोजना समयमै सक्न मातहतका निकायलाई निर्देशन दिएको हो।
अधिवेशनले आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता निर्धारण गर्दै सोहीअनुसार नीति तथा कार्यक्रम पारित गरेको छ ।
नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलस्रोत उपयोग विधेयक, २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक, २०८० छलफलपछि सर्वसम्मतिले पारित गरेको छ।
सभाले सहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले सहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाइन महाशाखा बनाइएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित गरेको छ ।