काठमाडौं। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न सुरु गरेको छ । प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनौटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिन सुरु गरिएको हो।
यसअघि पद्मकन्या विद्यायलले ट्राफिक क्लब गठन गरिसकेको छ । महानगरले अन्य विद्यालयमा पनि सो कार्यक्रम विस्तार गरिरहेको कामपा ट्राफिक व्यवस्थापन समितिले जनाएको छ।
छनौटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने मुख्य समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) उक्त तालिम प्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्नेछन् ।उ क्त समयमा विद्यार्थी नै ट्राफिकको पोसाकमा ट्राफिककै काममा खटिनेछन्, जसले गर्दा विद्यालय क्षेत्रमा हुने सडक दुर्घटना कम गर्न मद्दत गर्नेछ ।
सहयोगका लागि खटिएका विद्यार्थीले तोकिएको समयभित्र ट्राफिकको भूमिका निर्वाह गर्नेछन् । विद्यार्थीले ट्राफिक लाइट प्रयोग गर्ने, ट्राफिक कोन, सेफ्टी ज्याकेट, प्याटन लाइटसहित जान र आउनका लागि सङ्केत गरेर अन्यलाई सहयोग गर्नेछन् ।