काठमाडौं। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान)ले २४औँ बार्षिकोत्सव मनाएको छ । बिहीबार काठमाडौँमा आयोजित इपानको बार्षिकोत्सव उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरे ।
समारोहका विशेष अतिथि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहदुर बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको ६०।७० प्रतिशत योगदान रहेको बताए । उनले निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशील रहेको र निजी क्षेत्रको माग पुरा भएपछि ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने पनि बताए ।
कार्यक्रममा गृहमन्त्री श्रेष्ठले ऊर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतका तहमा काम गरिरहेको बताए । सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रलाई कसरी अघि बढाउने भनेर योजना बनाउने काम गरीरहेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा उद्यमी उत्साहित भएको बताउँदै १० बर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने सरकारको समझौता निकै स्वागतयोग्य रहेको बताए ।