काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन निर्देशन दिएका छन्। शुक्रबार बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकमा अर्थमन्त्री महतले आवश्यक नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीको काममा तीव्रता दिन निर्देशन दिएका हुन् ।
आगामी लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे ।
निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्र्नदैछ । निर्देशक समितिको बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।