काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि हिजोदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए।
काठमाडौं महानगरपालिकाले भने मंगलबार बिहानदेखि न्युरोड आसपासमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको बताए।
न्युरोड जानुपर्ने सवारी धनीलाई काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको छ। पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले हिजो बिहानदेखि विशेष सरसफाइसमेत गरेको छ ।