काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ।
एक उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐनविपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगले तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमारलाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेले आवश्यकताको पहिचान तथा लागत अनुमान नगरी उपयोग नहुने सामान खरिद गरेको पाइएकाले निजहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले बताएको छ।
आयोगले आरोपीहरुविरुद्ध रू २२ लाख ७८ हजार तीन सय पाँच बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।