पोखरा। बन्दै गरेको घरमा सर्वे गरिरहेको अवस्थामा लिफ्टबाट खस्दा पोखरामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले वडा प्रहरी कार्यालय बैदामलाई उल्लेख गर्दै मङ्गलबार दिउँसो एक बजेको समयमा घटना भएको बताएको हो।
मृत्यु हुनेमा कास्कीकै पोखरा महानगरपालिका–८ रत्न चोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराई रहेका छन्। उनी पोखराकै न्युरोडमा रहेको मुक्ति ईनर्जी प्रा.लि.का इन्जिनियर हुन्।
पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनीमाया भण्डारीको बन्दै गरेको निर्माणाधीन घरको तातो पानीको सर्वे गर्ने क्रममा भट्टराई ५ औँ तलाको लिफ्टबाट अचानक खसेका थिए।सख्त घाइते भएका उनलाई उपचारको लागि तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा दिउँसो साढे दुई बजेको समयमा मृत्यु भएको हो।