काठमाडौं। काठमाडौं महानगरपालिकाले निःशुल्क व्यवस्था गरेको धरहराको पार्किङस्थलमा हजारौं सवारी अट्ने क्षमता रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार धरहराको निस्शुल्क पार्किङस्थालमा दुई हजार २०० वटा २ पाङ्ग्रे र ३०० वटा ४ पाङ्ग्रे सवारी साधन अट्नेछ । यो संख्या साविक न्यूरोडको सडकमा गरिने सवारी पार्किङ्को संख्याभन्दा धेरै हो ।
अहिले धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा मात्र पनि १ हजार ५०२ पाङ्ग्रे सवारी साधन अट्न सक्छन् । यससँगै काठमाडौँ टावरमा ७०० वटा २ पाङ्ग्रे र ३०० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यसबाहेक नयाँ सडकमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनहरु छन् । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिन्छ ।’
न्युरोडको सडकमा १ हजार ३०० वटा २ पाङ्ग्रे र ३० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्थ्यो । जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा ३०० वटा २ पाङ्ग्रे र ५ वटा ४ पाङ्ग्रे, प्युखामा १५० वटा २ पाङ्ग्रे र ६ वटा ४ पाङ्ग्रे, खिचापोखरीमा १५० वटा २ पाङ्ग्रे र १५ वटा ४ पाङ्ग्रे, वीर अस्पताल महावौद्धमा १५० वटा २ पाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता थियो । त्यसैअनुरुप पार्किङ हुने गरेको थियो ।
महानगरपालिकाले अहिले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गर्दा पनि नयाँ सडकको कालोपत्रे सडकलाई सहज आवागमनका लागि प्रयोग गर्न सकिन्छ ।