तनहुँ। तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन हस्तान्तरण गरेको छ। पालिकाले व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराएको हो।
करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अझै सम्पन्न हुनसकेको छैन । भवनको केही काम अझै बाँकी छ । सोही भवन ट्राफिक प्रहरीलाई उपलव्ध गराउने निर्णय भएको हो ।
कार्यालय भवन अभावमा ट्राफिक प्रहरी कार्यालय सदरमुकामबाट अन्यत्र जाने सम्भावना बढेपछि पालिकाले भवन उपलब्ध गराएको हो ।
भवनमा विद्युतीकरण र झ्यालढोका हाल्न बाँकी छ । ती सबै काम नगरपालिकाले नै पूरा गर्ने सहमति भएको छ । सबै काम सकेपछि ट्राफिक प्रहरी कार्यालय सोही भवनबाट सञ्चालनमा आउने ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।