पूर्वी नवलपरासी। नारायणी नदीमा पहिलो पटक कायकिङ खेलको सफल परीक्षण गरिएको छ । सोमबार सम्पन्न कायकिङ प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने प्रथम भएका छन् । नारायणी नदीमा ७ किलोमिटरको दुरी ३५ मिनेट ३८ सेकेन्डमा पार गर्दै उनी पहिलो भएका हुन् । १९ प्रतिस्पर्धीमा पहिलो भएका पूर्वथानेले नगद ४० हजार पुरस्कार पाएका छन् ।
गण्डकी प्रदेश खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा दोस्रो स्थान गोर्खाका दिपेश रानामगरले हात पारे । रानाले ३६ मिनेट १० सेकेन्डमा दुरी पार गरेका थिए । तेस्रो हुने चितवनका विजय गुरुङले ३७ मिनेट २१ सेकेन्डमा उक्त दुरी पार गरे ।
दोस्रो हुनेले २५ हजार र तेस्रो १५ हजार नगद पाएका छन् । जल खेलकुद प्रतियोगिताका राष्ट्रिय प्रशिक्षक तथा निर्देशक निमबहादुर मगरले यो खेलकुद कावासोतीदेखि दक्षिणमा रहेको नारायणी नदीमा सम्पन्न गरिएको बताए । नारायणी नदीमा गरिएको प्रतियोगिता सफल देखिएकाले आउँदो असोजमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने उनले बताए । नेपालमा कायकिङ गर्ने २ सय भन्दा बढी खेलाडी छन् । कान्तिपुरबाट