काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आगामी बैशाख दोस्रो साता हुने चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी सुरु गरेको छ । इपानले एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिसँग मिले आयोजना गर्न लागेको एक्स्पोको तयारी सुरु गरिएको हो ।
२०८१ साल बैशाख १२ देखि १४ गते (तदनुसार अप्रिल २४ देखि २६ तारिख) सम्म राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने बुधबार संयुक्तरूपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । चौंथो संस्करणको एक्स्पोको नारा “समृद्धिका लागि हरीत ऊर्जा” दिइएको छ ।
जलविद्युत उत्पादनमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेको सन्दर्भमा ऊर्जा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको इपान अध्यक्ष गणेश कार्कीले बताए ।
“भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट विद्युत निर्यात गर्ने गरी तथा देशभित्र पनि १३ हजार ५०० मेगावाट विद्युत खपत गर्ने योजना सरकारले अघि सारेको छ,”उनले भने, “नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता पनि भर्खरै भएको छ । यस्तो अवस्थामा जलविद्युत उत्पादन बढाउनु पर्दे देशको आवश्यकता भएकाले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न एक्स्पोले भूमिका खेल्ने अपेक्षा लिएका छौं ।”
हाल २९ सय १ मेगावाट विद्युत प्रसारण प्रणालीमा जडान भइसकेकोमा निजी क्षेत्रबाट मात्र सोलारसहित १७१ विद्युत आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट जडान भइसकेको हुँदा सरकारी लक्ष्य भेट्टाउन यो क्षेत्रमा थप लगानी चाहिएकाले एक्स्पोमा ऊर्जा क्षेत्रसँग सम्बन्धित ऋण लगानी गर्ने बैंक, परामर्शदाता, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण उत्पादक एवं निर्यातकर्ता, निर्माण उपकरण बिक्रेता, जलविद्युत उद्यमी सबैको सहभागिता रहने इपान उपाध्यक्ष आशीष गर्गले बताए ।
सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने इप्पानको योजना रहेको खतिवडाले बताए ।
नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इपानको अपेक्षा छ ।