नुवाकोट। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सिपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्। नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा शनिबार तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होसार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै अर्थमन्त्री महतले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने उनले बताएका हुन्।
उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे। “चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ,” उनले भने। उनले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिए।
मानव सभ्यतामा धर्म, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले आ–आफ्नो जाति र समुदायअनुसारको संरक्षणमा आफैँ जुट्न उनले आग्रह गरे।