काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाका परियोजनाको पूर्वाधार विकासमा लगानीमैत्री वातावरण सकारात्मक रहेको ठहर गरेको छ । हाल नेपाल भ्रमणमा रहेको आइएमएफ टोलीले जलविद्युत तथा प्रसारण लाइनका परियोजनामा लगानीको वातावरण बनेको ठहर गरेको हो ।
आइएमएफ टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ । कोषका टिडाइन किण्डा नेतृत्वमा आएको भ्रमण टोलीले नेपालको विप्रेषण आय र पर्यटक बढ्दो भए पनि निर्यात वृद्धि नहुनु र मुद्रास्फिति बढ्नुले चुनौती देखिएको निचोड निकालेको छ ।
टोली प्रमुख किण्डाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विदेशमा बसाइँसराइ रोकिनुपर्ने र राजस्व परिचालनका दायरा बढाउनुपर्नेमा जोड दिए । उनले नेपालमा हुन लागेको लगानी सम्मेलनमा विद्यमान चुनौतीहरूका सम्भावनाहरूलाई पहिल्याइने बताए।