म्याग्दी। कालीगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राममन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको छ। गलेश्वर क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिका–२ स्थित रामन्दिर संरक्षण योजना अन्तर्गत कालिगण्डकी नदी किनारमा एकसय ३८ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गरिएको हो ।
जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराले माछापुच्छ्रे निर्माण सेवासँग दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत वर्षको माघ ९ गते चार करोड ३२ लाख ७९ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो।
ठेक्का सम्झौता लगत्तै निर्माण व्यवसायीले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माणको काम थालेको थियो । आगामी पुस ७ गतेसम्म ठेक्काको म्याद भएपनि दश महिना अगावै योजना सम्पन्न हुन लागेको हो। अहिले निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
रुपताल संरक्षण एकीकृत विकास परियोजनाका सब–इन्जिनियर अशोक तिमिल्सिनाका अनुसार योजनामा जमिन मुनी ५० सेन्टिमिटर चौढाई भएको साढे दुईमिटरको कटअफ निर्माण गरी तीन मिटर उचाइ भएको चार मिटरको फराकिलो पक्की कम्पोजिटवाल निर्माण गरिएको छ । निर्माण भएको कम्पोजिट वाल माथि आवश्यकता अनुसार तीनदेखि चारमिटर उचाइसम्म ग्याबियन झाली भरिएको छ । गोरखापत्रबाट