काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माणाधीन मन्त्री आवासको निरीक्षण गरेकी छन्। भैंसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख तथा मुख्य मन्त्री आवास निर्माणको मन्त्री झाँक्रीले सोमबार निरीक्षण गरेकी हुन्।
निरीक्षणको क्रममा उनले निर्माणमा देखिएको समस्या समाधान गर्दै काम अघि बढाउन आयोजनालाई निर्देशन दिएकी छन्।
सडकको विषयलाई लिएर स्थानीयले मन्त्री आवासको पर्खाल निर्माणमा अवरोध गरेका छन् निरीक्षणका क्रममा मन्त्री झाँक्रीले ११ मिटर चौडाइको सडक बनाउनु परेमा आवश्यक जग्गा आधा सरकारको र आधा स्थानीयको हुनु पर्ने अन्यथा ८ मिटर चौडाइकै सडक बन्ने बताइन् ।मन्त्री झाँक्रीले दायाँ, बायाँ दुबै साइड आधा–आधा काटेर सडक फराकिलो बनाउन सकिने उल्लेख गरेकी छन्।
मन्त्री आवास क्षेत्रको करिब ७ सय मिटर सडक खण्डमा चौडाइ ८ मिटरको हुने, अन्यन्त्र ११ मिटर हुने भएको छ । करिब ९६ रोपनीमा निर्माणाधीन मन्त्री आवासले नै सडकलाई आवश्यक पर्ने ठाउँ छाडिदिनुपर्ने स्थानीयको माग छ । यही माग राखेर स्थानीयले चार महिनादेखि मन्त्री आवासको पर्खाल बन्न दिएका छैनन् ।