काठमाडौं। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघिका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदावधि बाँकी छँदै पदबाट राजीनामा दिएपछि प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको थियो । १३ जनाले प्रतिस्पर्धाका लागि आवेदन दिएकोमा सबैभन्दा बढी अंक प्राप्त गरेका भट्टलाई सरकारले ३ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
भट्ट यसअघि पनि २०७० जेठदेखि २०७० मंसिरसम्म निगमको कार्यकारी निर्देशक भएका थिए । त्यसताका ३६ अर्ब ऋणको भार बोकिरहेको निगमलाई २०७१ असोज १३ गते स्वचालित मूल्य प्रणालीमा लगेर भट्टले निगमलाई ऋण मुक्त बनाएका थिए ।