म्याग्दी। बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित सडक छेउका घरटहरा हटाउन र क्षतिपूर्ति बुझ्न आह्वान गरिसकेको छ ।
सो क्षेत्रमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा र गोठ हटाउन लागिएको आयोजनाले बताएको छ। प्रभावितले क्षतिपूर्तिको दररेटमा असहमति जनाएपछि संरचना हटाउन सकिएको थिएन, संरचना नहट्दा सडक विस्तार र नाली निर्माण रोकिएको थियो।
क्षतिपूर्तीको पुनःमूल्याङ्कन भएपछि स्थानीय रकम बुझ्न तयार भएकाले संरचना हटाउने प्रक्रिया सुरु गरिएको बताइएको छ। गलेश्वरदेखि तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माण पूरा भइ कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब ७ सय मिटर सडक विस्तार र नाली निर्माण रोकिएको थियो । स्थानीयको मागअनुसार प्राविधिक टोलीले पुनःमूल्याङ्कन गरी क्षतिपूर्तिको रकम संशोधन गरेको थियो।