खोटाङ। हलेसी तुवाचुङ नगरपालिकामा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालन गरिएको छ। हलेसी तुवाचुङ नगरपालिकाले वडा नम्बर–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो।
सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको छ। गत आर्थिक वर्षमा विनियोजित १८ लाख ४४ हजार र चालु आव २०८०र०८१ मा विनियोजन गरिएको १९ लाख ९४ हजार ८३१ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज कृषि मार्टमा लगेर कृषिउपज बिक्री गर्ने छन्।
केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो। सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषिउपज कृषि मार्टमा बिक्री हुने जनाइएको छ।