भैरहवा। करिब दुई करोड रुपैयाँ लगानीमा रुपन्देहीको मायादेवी–५, दुर्गौलियामा आधुनिक प्रहरी चौकीको उद्घाटन गरिएको छ । जिल्लाको सिमावर्ती क्षेत्रमा निर्मित उक्त चौकीको बुधबार लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरे ।
चौकी उद्घाटन गर्दै मन्त्री पाण्डेयले सुविधा सम्पन्न ठाउँमा बसेर सेवा दिन पाउँदा प्रहरीको मनोबल बृद्धि हुने विश्वास व्यक्त गरे । शान्तिसुरक्षा प्रहरी मात्रैले चाहेर नहुने भन्दै स्थानीय जनताको सहभागिता जरुरी रहेको उनले बताए ।
‘प्रहरी भनेको मेरो र स्थानीय समुदायको शान्ति सुरक्षा दिने निकाय हो भनेर सम्झिन पर्छ’, उनले भने, ‘प्रहरीले आमनागरिकलाई सरल, सहज, सेवाप्रवाह र सुरक्षा दिनुपर्छ । स्थानीयबाट पनि सोहीअनुसार प्रहरीलाई सहयोग हुनुपर्छ ।’
यस्ता सुविधासम्पन्न प्रहरी चौकी हरेक ठाउँमा निर्माण हुनुपर्नेमा उनले जोड दिए । ‘अझै धेरै ठाउँमा जीर्ण भवनबाट प्रहरीले सेवा दिइरहेको छ, ती सबै चौकीलाई व्यवस्थित गर्नुपर्छ, यसका लागि प्रदेश सरकारले सधैं सहयोग गर्नेछ’, उनले भने।
खुल्ला सीमा भएकाले शान्ति सुरक्षामा विशेष ध्यान दिन उनको आग्रह छ । उनले प्रहरी भएर सबै सुरक्षित रहेको जनाउँदै प्रहरीसँग हातेमालो गरेर अघि बढ्न स्थानीयलाई अनुरोध गरे ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले पुरानो, पानी चुहिने र बोटविरुवा उम्रिएको भवनमा बसेर सेवा दिइरहेका प्रहरीले सुविधासम्पन्न भवनबाट सेवा दिँदा केही न केही फरक पर्ने जनाए ।
‘कतै ड्युटीमा गएकाबेला पानी पर्यो भने चुहिएर मेरो विस्तारा भिज्यो की भनेर चिन्ता गर्नुपर्यो भने प्रहरीले कसरी प्रभावकारी सेवा दिनसक्ला’, उनले भने, ‘पक्कै पनि सुविधा र सुरक्षित भवनले बनोबल बृद्धि गर्न सहयोग पुग्छ ।’
प्रहरीले सधैं अप्ठ्यारो अवस्थामा पनि आफू र घर परिवार भन्दा आमजनताका लागि काम गर्ने उनले बताए । अपराध अनुसन्धान, आचरण, स्थानीय स्तरमा बोलीव्यवहार लगायतका क्षेत्रमा सुधार गरेर प्रहरीले काम गर्नुपर्नेमा उनले जोड दिए ।
रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार प्रदेश सरकारले उपलब्ध गराएको १ करोड ८२ लाख ६७ हजारमा रुपैयाा लागतमा ठेक्का सम्झौता गरी प्रहरी भवन निर्माण गरिएको हो । २०७९ असोज १३ मा रुपन्देहीको तिलोत्तमा–१४ स्थित सपना–सुन्दरी कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिसँग ठेक्का सम्झौता गरी १४ गतेबाट भवन निर्माण सुरु गरिएको थियो ।
करिब डेढ वर्षमा ठेकेदारले भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । राठौरले व्यवस्थित भवनबाट प्रहरी सेवा पनि अझै प्रभावकारी हुने जनाए । कान्तिपुरबाट