बनेपा। काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ। १६ करोड १९ लाख ७९ हजार रुपियाँ लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो।
उक्त भवनको नगरपालिका स्थापना दिवसका अवसरमा आगामी आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ। नगरपालिकाले गत असोज ३ बाट नयाँ भवनबाट सेवा प्रवाह सुरु गरे पनि औपचारिक उद्घाटन आगामी आइतबार गर्न लागेको हो ।
निर्माण व्यवसायीले सुरुमा १४ करोड २२ लाख ९४ हजार ९४२ रुपियाँमा ठेक्का सम्झौता गरे पनि पछि केही काम थप भएपछि प्रशासनिक भवन, सभा हललगायतका संरचना निर्माण लागत १६ करोड १९ लाख ७९ हजार रुपियाँ पुगेको बताइएको छ।