काठमाडौं। नेपाल राष्ट्र बैंकले रू. ८ अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले फागुन ३० गते विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको हो । यो ऋणपत्र ८ वर्षे अवधिको हो । यसको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ ।
यो विकास ऋणपत्रको बोलकबोल आउँदो मंगलवार अर्थात् फागुन २९ गते दिउँसो ३ बजेसम्म हुने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ ।
उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न पाउनेछन् । ब्याजदर निर्धारण भने बोलकबोलबाट हुनेछ । यो ऋणपत्र धितोका रूपमा राखी कर्जा लिन वा दिन पाइनेछ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन पाउनेछन् ।
राष्ट्र बैंकले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात् ६ अर्ब ८० करोड रुपैयाँ र १ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई विक्री गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।