कैलाली। धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माणको काम सकिन लागेको छ। आठ करोड २१ लाख लागतमा निर्माण भइरहेको भवनको काम अन्तिम चरणमा पुगेको हो।
निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि समयावधि थप भएको थियो।
अहिले भवनमा ‘फिनिसिङ’को काम भइरहेको कम्पनीले जनाएको छ।
प्रत्येक प्रदेशमा एक–एकवटा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने सङ्घीय सरकारको नीति रहेको जनाइएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन २०७४ सालमै दरबन्दी स्वीकृत गरेको जनाइएको छ ।
जसअन्तर्गत सुदूरपश्चिममा पनि ११ जनाको दरबन्दी स्वीकृत गर्दै एकजना प्रयोगशाला अधिकृत र एकजना लेखापाललाई प्रादेशिक प्रयोगशालामा खटाएर कार्यालय खोलिएको थियो ।