गण्डकी। तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) मा सिँढी बाटो निर्माण गरिएको छ । पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको २६५ मिटर बाटोका लागि १० लाख रुपैयाँ र बाबियाडाँडा ठाँटीको २८५ मिटर बाटोका लागि १० लाख रुपैयाँ छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए।
गैरीस्वारादेखि केघा देउरालीको सिँढी बाटो गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गरेपछि सञ्चालनमा आएको छ । सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यस पदमार्गलाई व्यवस्थित गर्ने लक्ष्यका साथ पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।