रामेछाप। जिल्ला अस्पताल रामेछापले नयाँ भवनबाट आफ्नो सेवा शुरु गरेको छ। २०७२ को भूकम्पका कारण अस्पतालको पुराना भवनहरुमा क्षति पुगेकोले नयाँ भवनबाट सेवा शुरु गरेको हो ।
जर्मन सरकारको २७ करोड सहयोगमा बनेको नयाँ सुविधा सम्पन्न भवनबाट बिरामीहरुको सम्पूर्ण सेवाहरु सुचारु गरिएको जिल्ला अस्पताल विकास समितिले जनाएको छ।
दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनमा अत्यावश्यक सम्पूर्ण आधुनिक उपकरणहरु पनि जडान गरिएको छ। विशेषज्ञ चिकित्सक सहितको सेवा सुचारु गर्ने तयारीमा अस्पताल रहेको छ।
अस्पतालको नयाँ भवनबाट सेवा प्रदान र सेवा पाउँदा चिकित्सकका साथ साथै सेवाग्राही पनि खुशी भएका छन् । सुविधा सम्पन्न भवन त बन्यो तर अझै पनि जनशक्ति भने छैन । अस्पतालमा सुविधा सम्पन्न भवन र उपकरणहरु भएपनि जनशक्ति नहुँदा निकै समस्या भएको अस्पतालका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठले बताले बताए।
संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारबाट प्रदान गरिएका भेन्टिलेटर, आइसियु, भिडियो एक्सरे र ल्यावको लागि आवश्यक उपकरणहरु जिल्ला अस्पताल रामेछापलाई प्रदान गरे तापनि उक्त सेवाहरु दक्ष जनशक्तिको अभावमा ठप्प रहेको छ ।