सिन्धुली। अज्ञात समूहले सिन्धुलीको सुनकोसी गाउँपालिका–१ दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरी शुक्रबार बिहान कुकर बम विस्फोट गराएका छन्।
विस्फोटबाट बीपी पार्क भित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरीहरू पुगेका थिए।
टेलिकम टावरको भवनको झ्यालमा कुकर बम विस्फोट भएको थियो। कुकरको बिर्को र पेट्रोलको गन्ध आउने दुई वटा बोतल प्रहरीले फेला पारेको छ।
विस्फोट भएको स्थानमा जनमुक्ति सेना नामको पर्चासमेत भेटिएको र विस्फोटमा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।