काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले भूकम्पपछिको नेपालको पुनर्निर्माण कार्य भावी पुस्ताका लागि पनि अनुकरण गर्न लायक भएको बताएकी छन्।
काठमाडौंमा आयोजित ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताएकी हुन्।
भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरु अझ बलियो बनेको उल्लेख गर्दै उनले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समूदायप्रति आभार व्यक्त गरिन् ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई उनले आह्वान समेत गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरु अन्तराष्ट्रिय समुदायका लागि समेत अनुकरणीय हुने विश्वास व्यक्त गरिन् ।
उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने स्पष्ट पारिन्।