ताप्लेजुङ। फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा क्षेत्रको बस्ती हटाउनुपर्ने बताएका छन् । पाथीभरा क्षेत्रमा व्यवसायिक प्रयोजनले बन्न लागेको केवलकार निर्माणमा अवरोध गर्ने गरी भूमिका खेलेको भन्दै मेयर मादेनले नगरपालिकाले बस्ती नै हटाइदिने चेतावनी दिएका हुन् ।
उनले सामुदायिक वनको जग्गा ओगटेर बसेकाहरुलाई नगरपालिकाले हटाउन सक्ने र कानूनबमोजिम हटाउनै पर्ने व्यवस्था रहेको समेत खुलाए । पाथीभरा क्षेत्र विकास समितिको प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा बुधबार मेयर मादेनले सामुदायिक वनको जग्गामा बसेर, रुख दाउरा काटेर वन विनास गरेको, सरकारको निर्णय विपरीतका गतिविधि गरिरहेको भन्दै असन्तुष्टि पोखे ।
पाथीभरा क्षेत्रमा सामुदायिक वनको जग्गामा ४० परिवार बसोवास गर्दै आएका छन् । यहाँको बस्ती उठाउन डिभिजन वन कार्यालयले पनि पटकरपटक प्रयास गरेको थियो । तीर्थयात्रीले काफ्लेपाटी देखिनै हिड्नुपर्दा हैरानी पाउने र कठिनाइ बेहोर्नु पर्ने विषयलाई दृष्टिगत गरी बस्ती राखिएको थियो । इकान्तिपुरबाट