ढोरपाटन। बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ। धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले हिजोदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो ।
सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिले जनाएको छ। विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको हो।
एक करोड १० लाख लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको बताइएको छ। एउटा गाडीको मूल्य ५५ लाख रहेको छ। ‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने विश्वास गरिएको छ ।