चितवन। चितवनमा चट्याङ लागेर एकै घरका तीनजना घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा चट्याङ परेको हो।
चट्याङबाट सोमबहादुर चेपाङकी श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीया छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।
छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ। चट्याङबाट एककोठे कच्ची घर पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ।