काठमाडौं। बीएन्डसी अस्पतालका मालिक दुर्गा प्रसाई बडिगार्ड थुनामुक्त भएका छन्। बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्चका न्यायाधीशद्वय नकहुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईका बडिगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो।
दुईजना बडिगार्ड पक्राउ प्रकरणमा उनीहरूका परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। त्यसपछि सर्वोच्चले गत बुधबार सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको थियो।
अघिल्लो सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडिगार्डलाई मुद्दा चलाउन जिल्ला अदालत, काठमाडौंले अघिल्लो मंगलबार ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो।
यी दुईजना प्रसाईसँगै अघिल्लो सोमबार जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए।