काठमाडौं। वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ। बिहीबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालका लागि बेलायतका राजदूत रब फेनले लगानी सम्मेलनमा बेलायती लगानीकर्ता आउने जानकारी दिएका हुन्।
राजदूत फेनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको बताए। दोहोरो कर प्रणाली सम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्न उनले अर्थमन्त्री पुनसँग आग्रह समेत गरेका छन्।
राजदूत फेनले लगानी सम्मेलन सफल पार्न आफूले काठमाडौंस्थित अन्य मुलुकका नियोग प्रमुखहरूसँग पनि छलफल र समन्वय गरिरहेको जानकारी दिए ।
मन्त्री पुनले बेलायत नेपालको पुरानो मित्र र महत्त्वपूर्ण वैदेशिक साझेदार चर्चा गर्दै हालसम्म गर्दै आएको सहयोगका लागि धन्यवाद दिए ।
अर्थमन्त्री पुनले नेपालले वैदेशिक लगानीलाई स्वागत गर्ने नीति लिएको जानकारी गराउँदै दोहोरो कर प्रणालीसहित अन्तर्राष्ट्रिय लगानीकर्ता र विकास साझेदारले उठाउँदै आएका सवाल सम्बोधन गरिने उल्लेख गरे ।