काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ–कोरिया सिधा उडान प्रभावकारी हुने बताएका छन्।
कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल स्थापनाको सातौँ वर्षिकोत्सव तथा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।
उनले हाल कोरियाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या १० औँ स्थानमा रहेको बताउँदै भने, ‘सन् २०२३ मा २३ हजार ७४३ र कोरोना महामारीअघि ४७ हजार कोरियाली पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएकाले सहज रूपमा पर्यटक भित्रिने वातावरण आजको आवश्यकता हो।’
कोरियाली पर्यटकको आगमन दर बढाउन नेपाल वायुसेवा निगमको काठमाडौँ–कोरिया सिधा उडानबाट उल्लेखनीय कोरियाली पर्यटक नेपाल भित्र्याउन सकिने उनको भनाइ छ। उनले कार्यक्रममा सहभागी नेपालका लागि कोरियन राजदूत पार्क ताइयोङसँग निगमको उडान सञ्चालन गराउन सकारात्मक भूमिकाको अपेक्षा रहेको बताए।