काठमाडौं। दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्राधिकरणका पूर्व अध्यक्षद्वय झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायत १९ जनालाई प्रतिवादी बनाइएको छ । प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवती राम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
आयोगले प्रतिवादी विरुद्ध विशेष अदालतमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।