काठमाडौं। भारतको अनुदान सहयोगमा सर्लाहीमा दुई नयाँ विद्यालय भवन निर्माण गरिएको छ। कविलासी–२ पिपरियास्थित ‘बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय’ र लालबन्दी–१ नेत्रगंजस्थित ‘जनता माध्यमिक विद्यालय’ का नयाँ भवन निर्माण गरिएको हो। दूतावासका अनुसार करिब २ करोड ३० लाख रुपैयाँमा २ विद्यालय भवन निर्माण गरिएको हो।
काठमाडौंस्थित भारतीय राजदूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले निर्मित विद्यालय भवनको उद्धघाटन गरेकी हुन्। यसैगरी भारत सरकारले सन् २००३ यता नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको दूतावासले जानकारी दिएको छ। अहिलेसम्म ४ सय ६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ। भारत सरकारले सर्लाहीका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको जनाइएको छ।