तनहुँ। नवलपुर र तनहुँमा क्रिकेट रङ्गशाला बनाइने भएको छ। चैत ९ गते बसेको गण्डकी प्रदेशको मन्त्रीपरिषद् बैठकले नवलपुर र तनहुँमा क्रिकेट रङ्गशाला बनाउने निर्णय गरेको हो।
मन्त्रीपरिषद्ले नवलपुरको कावासोती २ नवदुर्गा खेल मैदान र तनहुँको शुक्लागण्डकी ८ गाउँफर्क उदय माविको खेल मैदानलाई सुविधा सम्पन्न बनाउने निर्णय गरेको छ। प्रदेश खेलकुद परिषद्ले प्रदेश स्तरको २ वटा र अन्तर्राष्ट्रिय स्तरको एउटा खेलमैदान बनाउन विभिन्न जग्गाहरू सिफारिस गरेको छ।
पहिलो चरणमा सरकारले प्रदेश स्तरको रङ्गशाला बनाउन निर्णय गरिसकेको छ । क्रिकेट मैदान निर्माणका लागि यो वर्ष ४० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमबाट काम अघि बढाइने छ।
कावासोतीमा नगरपालिकाले २ सय रोपनी जग्गा रङ्गशालाका लागि स्वीकृति दिएको छ । शुक्ल गण्डकीको खेलमैदानमा रहेको १७३ रोपनी जग्गा समेत स्वीकृति प्राप्त भैसकेको छ।