काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार तथा सेवा क्षेत्रमा लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन्। लगानी बोर्डको ५७औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको जानकारी दिएका हुन्।
लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले बोर्डले परम्परागत र सामान्य उपलब्धि दिनेगरी कार्य गरेर नपुग्ने स्पष्ट पार्दै बदलिँदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘छोटो समयमा देशको द्रूततर आर्थिक बृद्धि तथा रूपान्तरणकारी पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार हुनेगरी परिणाम दिनुपर्छ। बोर्डबाट पास भैसकेपछि निर्णयहरू परिणाममुखी बनाउन सदस्यज्यूहरूको स्वामित्व आवश्यक हुन्छ, यसका लागि अतिरिक्त पहलकदमी लिनुहुनेछ ।’
देशभित्र सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै निकायहरूले पिपिपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई ध्यान दिन निर्देशित गरे।