काठमाडौं। काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न स्थानीयले फेरि अवरोध गरेका छन्। विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका हुन्।
‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो ।
सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाएको समितिका संयोजक श्रीराम ढुङ्गानाले बताए ।
आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए ।