काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका छन् ।
राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरूका सचिवहरूसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा अर्थमन्त्री पुनले गृह र अर्थ मन्त्रालयको समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका हुन्।
उनले चालु आवको हालसम्मको राजस्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचक सुधार हुन नसकेको बताए।
चालु आवको ९ महिनामा हालसम्म ९ प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन हुनु राम्रो नभएको उनको भनाइ छ। यद्यपि आफू मन्त्री भएर आएको करिब एक महिनामा राजस्व संकलनमा केही सुधारका संकेत देखिएको उनको दाबी छ ।