काठमाडौं। साझा यातायात सहकारी संस्था लिमिटेडले साझा परिसर पुल्चोकमा निमार्मण गरेको डिपोको उद्घाटन गरिएको छ। मंगलबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विद्युतीय गाडी चार्ज गर्न सकिने चार्जिङ डिपोको शुभारम्भ गरेका हुन् ।
डिपोमा ११ वटा चार्जिङ स्टेशन रहेका छन् । प्रत्येक स्टेशनमा २ वटा चार्जिङ पोर्ट गरी २२ वटा चार्जिङ पोर्ट रहेका छन् । त्यस्तै नेपाल विद्युत् प्राधिकरणले साझा परिसरभित्रै एउटा चार्जिङ स्टेशन राखेको छ । उक्त चार्जिङ स्टेशनका २ वटा चार्जिङ पोर्ट छन् । यसरी साझा परिसर भित्र अब एकै पटक १२ वटा चार्जिङ स्टेशनमा २४ वटा विद्युतीय गाडी चार्ज गर्न सकिन्छ ।
योसँगै साझा यातायातले ल्याएका ४० वटै विद्युतीय बस अब सञ्चालनमा आएका छन् । चार्जिङ स्टेशनको अभावमा गत कात्तिकमा चीनबाट आयात गरिएका ९ मिटर लामा ती बस बस मध्ये २० वटा विद्युतीय बस मात्रै सञ्चालनमा ल्याउन सकेको थियो ।