काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्ने भएको छ। मंगलबार मन्त्रालयमा भएको एसियाली विकास बैंकका दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीसँग कुराकानी गर्दै मन्त्री पुनले पूर्वाधार, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका हुन् ।
उनले नेपालको आर्थिक रूपमा शिथिलता भए पनि सुधार प्रयास गरिरहेको बताए । गत वर्षभन्दा चालु आवमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको बताए।
आगामी आवमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे । उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उनले बताए ।
पुनले विश्व बैंक र एडीबीको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च प्रगति कम रहेको बताए । आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आयोजना सम्बद्ध मन्त्रालयसँग निरन्तर संवाद र परामर्श गरिरहेको उनको भनाइ छ ।