काठमाडौं। नेपालमा आगामी वैशाख १६ र १७ मा हुने लगानी सम्मेलनमा एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएको छ।
नेपाल भ्रमणमा रहेका एडीबीका दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीले मंगलबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा लगानी सम्मेलनमा उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने जानकारी दिएका हुन्।
उनले भेटमा एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे समेत चासो राखेका थिए ।
अर्थमन्त्री पुनले विश्व बैंक र एडीबीको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च प्रगति कम रहेको बताए । आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आयोजना सम्बद्ध मन्त्रालयसँग निरन्तर संवाद र परामर्श गरिरहेको उनको भनाइ छ।
नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वधारमा उल्लेख्य विकास गरेको समेत उनले जानकारी दिए।