काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख १६ र १७ मा हुने लगानी सम्मेलन २०२४ का सम्बन्धमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले नेपालस्थित कूटनीतिक नियोगहरू, विकास साझेदार तथा संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गरेका हुन्।
उनले नेपालले लगानीको वातावरण सुधारका लागि महत्वपूर्ण कानुनी, संस्थागत र प्रक्रियागत सुधार तथा लगानीयोग्य परियोजनाहरू समेत तयार भइरहेको जानकारी गराराउँदै सम्मेलनमा सम्भाव्य विदेशी लगानीकर्ताहरूको उल्लेख्य सहभागिताका लागि कूटनीतिक नियोगहरू र विकास साझेदारहरूको सहयोग नेपाल सरकारले अपेक्षा गरेको बताए ।
प्रधानमन्त्रीले भने, ‘लगानी सम्मेलनमा विभिन्न क्षेत्रका सम्भाव्य परियोजनाहरू शोकेस, मार्केट साउन्डिङ तथा लगानी आह्ववान गरिने हुँदा विदेशी लगानीकर्ताहरूलाई यो अवसर उपयोग गर्नका लागि यहाँहरूबाट सन्देश प्रवाहित हुनेछ भन्ने नेपाल सरकारले विश्वास लिइएको छ।’
प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलता परियोजनामा व्यक्त हुने लगानीको प्रतिवद्धता र त्यसको प्राप्तिमा निर्भर हुने बताउँदै लगानी सहजीकरणका लागि लगानी बोर्डको कार्यालय र उद्योग विभागमार्फत् विदेशी लगानीलाई व्यवस्थित गरिएको उल्लेख गरे ।