काठमाडौं। आगामी वैशाख १३ गतेदेखि हुने चौंथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा हुने एक्स्पोको तयारी पूरा भएको हो।
एक्स्पोको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ ।
नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।