काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन्। सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ भनिने गरिएकोमा विज्ञहरुले सो सुझाव दिएका हुन्।
इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले हिजो (आइतवार) आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले नेपालका अन्य हिमालको नाम नेपाली मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए।
इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विसं १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थिए।